काठमाडौं - सरकारले धानको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
जसअनुसार मोटा धानको प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ ।
गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टर २१५ रुपैयाँ वृद्धि भएको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल २६६ रुपैयाँ वृद्धि भएको छ ।
सरकारले तोकेको न्यूनतम मूल्यभन्दा कममा धान खरिदबिक्री गर्न पाइँदैन। किसानको धान बिक्री नभएको खण्डमा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्ने गरेको छ ।
यसैगरी सरकारले न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।
हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ रुपैयाँ प्रतिक्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ ।
गत वर्ष सरकारले करिब ९ हजार मेट्रिकटन धान खरिद भएको थियो । चालु आर्थिक वर्षमा ३ लाख मेट्रिकटन धान खरिद गर्ने सरकारी लक्ष्य छ। त्यसका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया