तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्ब माथि पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्ब रूपैयाँमाथि पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रूपैयाँ बराबर छ ।

सो अवधिमा देशको कूल व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात ४१ अर्ब ८२ करोड रूपैयाँ बराबरको भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवको तीन महिनामा कूल व्यापार १८.५४ प्रतिशतले घटेको छ । गत आवमा कूल पाँच खर्ब ४३ अर्ब ५७ करोड बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको मात्रै व्यापार भएको छ । यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८.५४ प्रतिशतले ओरालो लागेको हो ।

गत आवमा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालू आवको तीन महिनामा १६.२० प्रतिशतले कमी आई ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।

यस्तै, गत आवको तीन महिनामा ६५ अर्ब पाँच करोड बराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५.७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड बराबरको वस्तु निर्यात भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया