काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल र जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ ।
विभागले काठमाडौं उपत्यकाभित्र बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम ४७ रुपैयाँ निर्धारण गरेको हो ।
उपत्यकाबाहिर भने एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ ।
संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको हो ।
निर्धारित मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ । मूल्य बढी लिएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही गरिने विभागले जनाएको छ ।
निर्धारित मूल्यभन्दा बढी रकम तिरेर पानी खरिद नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया