दसैंअगावै तोरीको तेल उत्पादन गर्दै  साल्ट ट्रेडिङ कर्पोरेशन

३ बर्ष अगाडि

काठमाडौं- दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ। हेटौंडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी दसैंअघिदेखि  बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ।

विभागीय प्रबन्धक बज्रेशकुमार झाका अनुसार कर्पोरेशनले तोरीको तेल उत्पादन गरेसँगै स्थानीय र नेपालभरिमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेल पाउने विश्वास जताएका छन् ।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ। पछिल्लो पाँच वर्षयता कर्पोरेसनको कारोबार निरन्तर बढिरहेको छ। 

आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेशनले रु. आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो। आव २०७४/७५ मा रु. नौ अर्ब ६८ करोड, आव २०७५/७६ मा रु. आठ अर्ब २५ करोड, आव २०७६/७७ मा रु. नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेसनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए। 

साल्ट ट्रेडिङ कर्पोरेशन ६०औँ वर्षमा प्रवेश गरेको छ । सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित कर्पोरेशन सफलता साथ अगाडि बढिरहेको छ । विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो । तत्कालीन समयमा सहजरुपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले बहुउद्देश्य लिएर उपभोक्ता मैत्री संगठनका रुपमा सफलता हासिल गरिरहेको छ ।

बिक्री बढेसँगै कर्पोरेसनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ। कर्पोरेशनले आव २०७७/७८ मा मात्रै रु. पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ। गत आवको कारोबार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए।

 

३ बर्ष अगाडि

प्रतिक्रिया