भदौं २३ देखि फर्निचर एक्स्पो आयोजना हुँदै

३ बर्ष अगाडि

काठमाडौं - आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले भदौं २३ गतेदेखि फर्निचर एक्स्पो आयोजना हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताए ।

वर्षेनी झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको संघका अध्यक्ष जोशीको भनाई छ ।

एक्स्पो भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छ । यस पटकको एक्स्पोलाई स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहने छन् । भारत, बंगलादेशलगायतका छिमेकी मुलुकका प्रदर्शक पनि एक्स्पोमा सहभागी हुनेछन् ।

पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैछन् । एक्स्पो अवलोकनका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ । डिजी पेबाट १० गोल्ड क्यास रिडिम गरेर पास पाउन सकिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया