काठमाडौं - आर्थिक मन्दीको आशङ्काले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा असर देखिन थालेको छ । विगत केही दिनको तथ्यमा आधारित रहेर हेर्ने हो भने अमेरिकाको बेञ्च मार्क क्रूड आयल (कच्चा तेल) को मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरिसकेको छ ।
आर्थिक मन्दीका कारण पेट्रोलियम पदार्थको मागमा गिरावट आउनसक्ने आँकलनका बीच मूल्य घट्न थालेको हो । अन्तराष्ट्रिय क्षेत्रका तेल विश्लेषकहरुले जारी वर्ष २०२२ को अन्तसम्ममा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६५ डलरसम्म सीमित हुनसक्ने दाबी गरेका छन् ।
मंगलबार वेस्ट टेक्सास इण्टरमिडिएट क्रूडको मूल्य ८.४ प्रतिशतले घटेर प्रतिब्यारेल ९९.२९ अमेरिकी डलरमा आइपुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मई महिनामा पनि यस्तो क्रूडको मूल्य ९९ डलर प्रतिब्यारेलभन्दा तल झरेको थियो ।
विज्ञहरुले कच्चा तेलको मूल्यमा गिरावट यो वर्ष मात्र नभई अर्को वर्ष पनि जारी रहने प्रक्षेपण गरेका छन् । सन् २०२३ को अन्तसम्ममा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ४५ डलरसम्म आउनसक्छ ।
रोयटर्सको एक रिपोर्टमा सिटी ग्रुपलाई उद्धृत गर्दै बताइएअनुसार सन् २०२२ र २०२३ मा रुसी कच्चा तेलको निर्यात बढेर जानसक्छ । विश्वमा हुने कच्चा तेलको मागमा आउनसक्ने कमीका कारण रुस बाहेकका देशमा रहेको तेलको स्टक बढ्नेछ र यहीकारण आगामी दिनमा मूल्य घट्नेछ ।
सिटी ग्रुपको अनुमानअनुसार ब्रेन्ट क्रूड सन् २०२२ तेश्रो त्रैमासमा ९९ डलर प्रतिब्यारेल तथा चौथो त्रैमासमा ८५ डलर प्रतिब्यारेलसम्म आइपुग्नसक्नेछ । कुल मिलाएर सन् २०२२ मा यस्तो क्रूडको मूल्य ९८ डलर प्रतिब्यारेल र सन् २०२३ मा ४५ डलर प्रतिब्यारेलसम्म आउनसक्ने सिटी ग्रुपको दाबी छ ।
प्रतिक्रिया