काठमाडौं - असार २ गतेदेखि राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” को आयोजना गरिने भएको छ ।
नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै एक्स्पो आयोजना गरिन लागिएको हो ।
नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजन हुने एक्स्पो पाँच दिन अर्थात असार ६ गतेसम्म चल्नेछ ।
विगतका राजनीतिक उपलब्धीहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक सम्बृद्धितर्फ उन्मूख हुँदै गरि रहेको परिपेक्षमा राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिँदै आइएको चेम्बरले जनाएको छ ।
पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सकेपछि चेम्बर अफ कमर्शले मेलाको पाँचौ संस्करणमा व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।
बंगलादेश पार्टनर कन्ट्री रहेको यस वर्ष वाणिज्य मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एसेसरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल एण्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एण्ड ह्याण्डलुमस, सुज एण्ड लेदर आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको चेम्बरले जनाएको छ ।
एक्स्पोमा १५० वटा स्टलहरू रहने छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने एक्स्पो नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू पनि रहने आयोजक पक्षले जनाएको छ ।
प्रतिक्रिया