एजेन्सी - अहिले भारतका निजी तेल रिफाइनिङ कम्पनीहरु आफ्नो मुनाफा बढाउनका लागि सस्तोमा रुसी कच्चा तेल खरिद गरिरहेका छन् । तर, भारतका सरकारी रिफाइनरी कम्पनीहरु भने आफ्नो वार्षिक सम्झौताअनुसार नै कच्चा तेल खरिद गरिरहेका छन् ।
यस्तै भारतीय निजी रिफाइनिङ कम्पनीहरु अधिकांश तेल विदेशी बजारमा बेचेर राम्रो मुनाफा आर्जन गरिरहेका छन् भने सरकारी कम्पनीहरु भारतमा मात्रै तेल बिक्री गरिरहेका छन् । जसका कारण भारतीय सरकारी रिफाइनिङ कम्पनीहरुले भारी नोक्सानीको सामना गरिरहनुपरेको छ ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अधिकांश पश्चिमी देशहरुले रुसबाट तेल खरिद गर्न बन्द गरेका छन् । तर, रिलायन्स र नायराजस्ता भारतीय निजी रिफाइनिङ कम्पनीहरु भने यो वर्ष रुसी तेल खरिद गर्ने सबैभन्दा ठूलो खरिदकर्ता बनेका छन् ।
यी कम्पनीहरुले रुसबाट आयात गरेको अधिकांश तेल भारतभन्दा बाहिर निर्यात गरिरहेका छन्। जसका कारण यी कम्पनीहरुको मुनाफामा उल्लेख्य वृृद्धि भएको छ ।
भारतका निजी रिफाइनिङ कम्पनीहरुको मुनाफा वृद्धि हुँदा सरकारी रिफाइनिङ कम्पनीहरुले भने जुन महिनाको त्रैमासमा घाटा व्यहोरेका छन् । विश्वस्तरमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण भारतीय सरकारी रिफाइनिङ कम्पनीहरुले घाटा व्यहोरेको जनाइएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेसँगै अर्थात २४ फेब्रुअरीदेखि अहिलेसम्म भारतले रुसबाट ६।२५ करोड ब्यारेल कच्चा तेल खरिद गरेको छ । यो परिणाम गत वर्षको सोही अवधिको तुलनामा ३ गुणा धेरै हो । जसका कारण सन् २०२२ को पहिलो ५ महिनामा भारतबाट हुने तेलको निर्यात १५ प्रतिशतले बढेको छ ।
भारतका निजी रिफाइनिङ कम्पनीहरुले घरेलु बजारमा तेलको बिक्री ३ प्रतिशतले घटाएका छन् । मार्च महिनामा अन्त्य भएको आर्थिक वर्षमा भारतीय निजी रिफाइनिङ कम्पनीहरुको घरेलु बिक्री १० प्रतिशत थियो। जुन अहिले घटेर ७ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया