काठमाडौं- सरकारले गत आइतबार बजेट वत्तव्य मार्फत विद्युतिय सवारीमा भन्सार महशुल र अन्तशुल्क बढाएको भन्दै पूर्वअर्थमन्त्री बिष्णु पौडेलले संसदमा आपत्ति जनाएका छन ।
पौडेलले मंगलबार बजेट छलफलको क्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युतिय सवारी आयातमा पनि अन्तशुल्क लगाएर, भन्सार महशुल बढाएर विद्युतिय सवारीलाई निरुत्साहित गर्न खोजिएको आरोप लगाए ।
‘विद्युतिय सवारीलाई हामीले फुटबल बनाइरहेको छौं । यसले के जनाउछ भने नेपालमा पुनः डिजेल पेट्रोलका गाडीलाई प्रोत्साहन दिदै विद्युतिय सवारीलाई निरुत्साहन गर्ने नीति सरकारले बजेट मार्फत लिएको छ’ पौडेलले भने ।
उनले भोलिका दिनमा महँगो पेट्रोल डिजेल किनेर गाडी चढ्ने वातावरण सरकारले बनाउन लागेको पौडेलले बताए । उनले अर्थमन्त्री शर्मालाई प्रश्न गर्दै भने ‘विद्युतिय सवारीमा भन्सार र अन्तशुल्क किन अर्थमन्त्री ज्युले बढाउनु भयो मैले बुझ्न सकिरहेको छैन’ ।
उनले बिद्युतीय सवारी आयातमा अन्तःशुल्क लगाउने र भन्सार दर बढाउने निर्णय गलत रहेको बताए ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा १०० किलोवाट पावर माथि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।
त्यसैगरी, २०१ देखि ३०० किलोवाट क्षमताका मोटर जडान भएको कारमा ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तःशुल्क तथा ३०० किलोवाट भन्दा माथिको मोटर जडान भएको कारमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लगाएको छ ।
प्रतिक्रिया