काठमाडौं - भारतले आगामी जुन १ तारिखदेखि चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको मूल्य अझै बढ्ने भएको छ ।
भारतले खाद्य सुरक्षालाई ध्यानमा राखेर केही समय अगाडि गहुँमा पनि प्रतिबन्ध लगाएको थियो भने आगामी जेठ १८ गतेदेखि चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नेपाल चिनीको सवालमा पुरै भारतमा निर्भर रहेको छ ।
भारतले आफ्नो घरायसी उपभोक्ताको हित संरक्षणको लागि भनेर प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपालको उपभोक्तामा पर्ने अर्थविद् केशव आचार्यले बताए ।
उनले भने –‘बैधानिक रुपमा भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर भनेको नेपालमा चिनीको मूल्य महंगिन्छ । चिनीको मूल्य बढेसँगै यसको प्रयोगबाट बनाइने विभिन्न मिठाई र अन्य औषधिहरु समेत मंहगिने छ ।’
नेपाल भारत बीच खुला सिमानाका कारण चिनीको कालो बजारीसमेत प्रश्रय पाउने उनले बताए ।
खाने तेल आयातमा भन्सार शुल्क छुट
भारतले सुर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुट दिएको छ । दुई वर्ष सम्मको लागि २० लाख मेट्रिक टन बराबरको सुर्यमुखी र भटमासको कच्चा तेल आयातमा भन्सार नलाग्ने भारतले घोषणा गरेको छ ।
प्रतिक्रिया