भारतमा घट्यो पेट्रोलियम पदार्थको मूल्य !

३ बर्ष अगाडि

काठमाडौं- भारत सरकारले बढेको पेट्रोलियम पदार्थको मूल्यमा करको दर घटाएको छ। भारत सरकारले इन्धनमाथि लगाइएको कर (एक्साइज ड्यूटी) लाई कम गरेर मूल्य घटाएको हो।

करको दर घटाईएपछि अब भारतमा पेट्रोलको मूल्य यसअघिको भन्दा ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँ प्रति लिटर सस्तो भएको छ।  वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा ८ र डिजेलमा ६ रुपैयाँ प्रति लिटर एक्साइज ड्यूटी घटाउने निर्णय गरेकी हुन्। 

यति मात्र नभई भारत सरकारले प्रधानमन्त्री उज्जवला योजना अन्तर्गत खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डिर २ सय रुपैयाँ छुट दिएर आम मानिसले खरीद गर्ने सिलिन्डरलाई सस्तो बनाइएको छ।

भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको थियो । आन्ध्र प्रदेशमा प्रति लिटर डिजेलको मूल्य १०७ रुपैयाँ ६१ पैसा थियो । नयाँदिल्लीमा पेट्रोल मूल्य १ सय ५ रुपैयाँ ४१ पैसा र डिजेल ९६ रुपैयाँ ६७ पैसा छ । शनिबार मध्यरातिबाट उक्त मूल्यमा कमी आउनेछ ।

नेपालमा भने स्थानीय तहको चुनाव लगत्तै पेट्रोलियम पदार्थको मुल्य ह्वात्तै बढाईएको छ। नेपाल सरकारले एक साता अगाडी मात्रै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो। 

बढेको मुल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया