एजेन्सी - युक्रेनमा जारी युद्धबीच रुसले पोल्यान्ड र बुल्गेरियामा रुसी ग्यासको सप्लाई बन्द गरिने भएको छ । रुसको सरकारी ग्यास सप्लाई कम्पनीले यी देशलाई रुबलमा भुक्तानी गर्न भनेको थियो ।
तर, यी देशले रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि रुसी ग्यासको सप्लाई बन्द गरिने भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार युरोपेली युनियन र नेटोका यी दुई सदस्य राष्ट्रलाई ऊर्जा क्षेत्रको दिग्गज कम्पनी गाजप्रोमले बुधबारदेखि ग्यास आपूर्ति बन्द गरिने जानकारी गराएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना ‘गैरसहयोगी राष्ट्रहरु’ले डलरको सट्टा रुबलमा भुक्तानी गर्नुपर्ने घोषणा गरेका थिए । यो घोषणापछि पहिलोपटक रुसले कुनै देशलाई ग्यास सप्लाई बन्द गरेको हो ।
रुसको आक्रमणपछि पोल्यान्डले आफ्नो छिमेकी राष्ट्र युक्रेनलाई समर्थन गर्दै आएको छ । अमेरिका र अन्य पश्चिमी मुलुकबाट युक्रेनमा पठाइने हतियारको ट्रान्जिट पनि पोल्यान्ड नै हो ।
पोल्यान्ड सरकारले यही साता युक्रेनी सेनालाई ट्यांकहरु पठाउँदैछ । यसबाहेक मंगलबार पोल्यान्डले गाजप्रोमसहित ५० रुसी कम्पनी र व्यवसायीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
प्रतिक्रिया