एजेन्सी - भारतले रुसबाट हुने कोइलाको आपूर्ति वृद्धि गरिरहेको छ । मार्च महिनामा भारतले गत दुई वर्षपछिकै सबैभन्दा धेरै रुसी कोइला आयात गरेको छ ।
भारतले मार्च महिनामा रुसबाट १.०४ मिलियन टन कोइला आयात गरेको छ । जुन सन् २०२० जनवरी पछिकै उच्च हो । भारतले कोइला संकटको समाधानका लागि गत अप्रिल २ मा अष्ट्रेलियासँग व्यापार सम्झौता गरेको थियो ।
उक्त सम्झौतामा अस्ट्रेलियाबाट भारत आयात हुने ८५ प्रतिशत वस्तुहरुमा भन्सार छुटको व्यवस्था गरिएको छ । तर, अस्ट्रेलियाले भारतको बढ्दो कोइला मागलाई पूरा गर्न नसक्ने विज्ञहरुले बताएका छन् । जसका कारण भारत रुसी कोइलाप्रति आकर्षित भएको छ ।
इन्टरनेसनल इनर्जी एजेन्सी २०२१ को रिपोर्टका अनुुसार कोइलाले भारतको कुल विद्युत उत्पादनमा ७० प्रतिशत हिस्सा ओगट्ने गर्छ । भारत कोइला आयात र उपभोग गर्ने चीनपछिकै विश्वको दोस्रो ठूलो देश हो ।
त्यस्तै रुस विश्वकै छैटौँ ठूलो कोइला उत्पादक देश हो । सन् २०२० मा रुसको करिब ५४ प्रतिशत कोइला एसियामा निर्यात भएको थियो भने ३१ प्रतिशत युरोपमा पुगेको थियो ।
रुसले युक्रेनमा गरेको आक्रमणको परिणामस्वरुप युरोपेली कमिसनले गत साता रुसी कोइलामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
रुसले युक्रेनमा आक्रमण गर्नुपूर्व भारतले रुसबाट निकै कम परिणाममा कोइला खरिद गर्ने गर्थ्यो । जुन सन् २०२१ मा भारतको कुल कोइला आयातको २ प्रतिशतमात्रै थियो ।
पश्चिमा देशहरुको चेतावनीका बाबजुद पनि भारतले रुसबाट तेल र कोइला जस्ता प्राकृतिक स्रोतहरु आयात गर्न छाडेको छैन । तर, दुई देशबीचको व्यापारमा रहेका वित्तीय चुनौतीहरु बाइपास गर्न मुद्रा विनिमय सम्झौतामा निर्भर रहनेछ ।
प्रतिक्रिया