अमेरिकाले रुसबाट ठूलो परिमाणमा तेल किनेर आफ्नो तेलको भण्डार बढाइरहेको खुलासा

३ बर्ष अगाडि

एजेन्सी - एक रुसी अधिकारीले एकातिर अमेरिकाले रुसबाट ठूलो परिमाणमा तेल किनेर आफ्नो तेलको भण्डार बढाइरहेको खुलासा गरेका छन् । ती अधिकारी अमेरिकाले अर्कोतर्फ अन्य देशलाई रुसबाट तेल नकिन्न दबाब दिइरहेको दाबी पनि गरेका छन् । 

रुसी सुरक्षा परिषद्का उपसचिव मिखाइल पोपोभले रुसी सञ्चारमाध्यमसँगको कुराकानीमा अमेरिकाले गत साता रुसबाट कच्चा तेल खरिद ४३ प्रतिशतले भण्डार बढाएको दाबी गरेका छन् । ‘अमेरिकाले रुसबाट दैनिक १ लाख ब्यारेलभन्दा बढी कच्चा तेल खरिद गरिरहेको छ’, पोपोभले भने । 

चिनियाँ अखबार ग्लोबल टाइम्सको रिपोर्टका अनुसार पोपोभले युरोपले अमेरिकाबाट यस्तै ‘आश्चर्यजनक रवैया’को अपेक्षा गर्नुपर्ने बताएका छन् । पोपोभले भने, ‘यसबाहेक अमेरिकाले आफ्ना कम्पनीहरुलाई रुसबाट खनिज मल किन्न अनुमति दिएको छ । यसलाई अत्यावश्यक वस्तुको मान्यता दिइएको छ ।’

कच्चा तेल र प्राकृतिक ग्यासका लागि युरोप रुसमा निर्भर छ । यो थाहा पाएर अमेरिका र उसका युरोपेली सहयोगीहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाउने कुरा गरिरहेका छन् ।

रुसको तेलमाथि प्रतिबन्ध लगाउन अमेरिका र बेलायत दुवैतिर दबाब छ । बेलायतले यो वर्षको अन्त्यसम्ममा रुसी तेलमाथिको आफ्नो निर्भरता अन्त्य गर्ने जनाएको  छ। अमेरिकाले रुसबाट अप्रिल २२ सम्ममा तेल र कोइलाको आयात बन्द गर्ने पनि बताएको छ ।

विश्लेषकहरुले रुस–युक्रेन संकट र रुसी तेलमाथिको प्रतिबन्धबाट सबैभन्दा बढी फाइदा अमेरिकालाई भएको बताएका छन् । ‘रुसको तेल किनेर अमेरिकाले आफ्ना युरोपेली सहयोगीहरुलाई फन्दामा पारिसकेको छ’, एक वित्तीय विश्लेषकले भने, ‘अरु देशलाई रुसको तेल किन्न प्रतिबन्ध लगाएर अमेरिकाले रुसबाटै तेल किनेर चर्को मूल्यमा युरोपेली मुलुकलाई दिने गरेको छ ।’ 

३ बर्ष अगाडि

प्रतिक्रिया