१ खर्ब वस्तु निर्यात हुदाँ ११ खर्ब बढीको वस्तु नेपाल भित्रियो,भारत र चीनबाट कति/कति ?

३ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको छ  ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ७ महिनामा रु.१ खर्ब ३१ अर्ब ६६ करोडको वस्तु निर्यात भएको पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यातमा ७.६ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११३.० प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, समीक्षा अवधीसम्ममा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु.११ खर्ब ४७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात् ०.०१ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

चालु सात महिनामा कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भई रु.१० खर्ब १५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १२८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १०४ अर्ब १३ करोड बराबरको भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया