काठमाडौं - राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकार समक्ष ६ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले नेपाल आयल निगम समक्ष मागपत्र पुनः पेश गरेको छ ।
उक्त माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ । नेपाल एलपि ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध व्यवसायीहरु सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने तथा एलपिजि विनियमावली, विक्रेता विनियमावली तथा दुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागीतामा परिमार्जन सहित संशोधन गर्नु पर्ने माग राखेको छ ।
माग पत्रमा आयल निगम मार्फत पेट्रोलियम व्यवसायीक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनु पर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनु पर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउदै आएको कमिशन स्थगन भएकोमा फागुन १९ गतेबाट नै पाउनु पर्ने माग गरिएको छ ।
यस्तै, एलपि ग्यास ढुवानी गर्ने साधनको भाडादर स्वचालित हुनुपर्ने माग पनि रहेको छ ।
प्रतिक्रिया