एजेन्सी - युक्रेनमाथि आक्रमणलाई लिएर पश्चिमा देशहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने रुसले चेतावनी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने रुसले चेतावनी दिएको हो । प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएका छन् ।
रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन अमेरिका र युरोपेली देशहरुले दिएको दबाब रुसी कम्पनीहरुले महसुस गर्न थालिसकेको नोभाकले बताएको छ । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्छ ।
यसअघि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो । एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो । तर, पछि १३० डलरभन्दा कममा आइपुग्यो । एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ ।
साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्न अमेरिकी राष्ट्रपति चाँडै रियाद भ्रमणमा जाने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको खबर सार्वजनिक भएको छ । अमेरिकी समाचार संस्था एक्जिअसका अनुसार तेलबारे कुरा गर्न राष्ट्रपति जो बाइडनले वसन्तयाममा साउदी अरबको भ्रमण गर्न सक्छन् ।
अमेरिकाले हाल आयात गर्ने कच्चा तेल र पेट्रोलियम पदार्थमध्ये झन्डै १० प्रतिशत रुसबाट आयात हुन्छ ।
प्रतिक्रिया