काठमाडौं - सुनको मूल्य बढ्दै जाँदा आयातमा सुनको हिस्सा बढ्दै गएको छ । भन्सार विभागको माघसम्मको तथ्याँक अनुसार सबैभन्दा बढी आयात हुने बस्तुमा सुन ९ औं स्थानमा रहेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा २५ अर्ब २१ करोड रुपैयाँको सुन आयात भएको छ । गत आर्थिक वर्षमा २७ अर्ब ३४ करोड रुपैयाँको सुन आयात भएको थियो ।
यस्तै यसअघि १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ आज सोहि विन्दु नजिक पुगेको छ । आइतबार सुनको भाउ प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ ।
पछिल्लो समय रुस र युक्रेनको युद्धले गर्दा अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको छ । विश्व बजारमा सुनमा गरिएको लगानीलाई सबै भन्दा सुरक्षित मानिने गर्छ । त्यसैले पनि अन्य क्षेत्रमा लगानी गर्न छाडेर सुन खरिद गर्न थालिएकोले सुनको माग बढ्दो क्रममा छ । यसले गर्दा भाउ दैनिक रुपमा बढ्दै गएको छ ।
पछिल्लो तथ्याँक अनुसार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १ हजार ९७० डलरमा कारोबार भइरहेको छ ।
नेपालमा पनि सुनको भाउ अन्तराष्ट्रिय बजारको आधारमा नै तय हुने हुँदा यहाँ पनि सुनको भाउ लगातार बढ्दै गएको व्यवसायीहरु बताउछन् ।
प्रतिक्रिया