काठमाडौं - अहिले युक्रेनमा रूसले आक्रमण गरेको बहानामा खानेतेलको मूल्य बढाउन थालिएको छ । अहिले मूल्य बढाउनुपर्ने कारण नै छैन । युक्रेनबाट कच्चा पदार्थ आयात हुन नसक्ने भन्दै तेलको भाउ बढाउनु व्यापारीहरूको दोधारे चरित्र हो ।
केही हप्ताअघिसम्म भारतले पाम, भटमासको तेल आयातमा कडाइ गरेकाले ठूलो परिमाणको उत्पादन थन्किएर बसेको भन्दै व्यापारीहरूले रूवावासी गरेका थिए । त्यो तेल नेपालमा खपत गर्न लामो समय लाग्ने उनीहरूको भनाइ थियो ।
अहिले युक्रेनबाट कच्चा पदार्थ आउन छाडेको धेरै भएको छैन । अन्य देशबाट पनि कच्चा पदार्थ आयात भएको छैन । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य केही बढेको छ । तर, त्यो बढेको मूल्यको कच्चा पदार्थ नेपाल आइपुगेकै छैन ।
पुरानो स्टकको माल बेचेर कच्चा पदार्थको भाउ बढेको भन्दै खानेतेलको भाउ बढाउनु व्यापारीको बेइमानी हो । यसमा सरकारले पनि बेवास्ता गरेर सहयोग गरेको देखिन्छ ।
अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै अत्यधिक मूल्य बढाउने उद्योगीलाई कारबाही गर्नुपर्छ । व्यापारीहरूले रूस–युक्रेनबीच भएको युद्धका कारण देखाएर खाने तेलको खुद्रा मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएर सरकारलाई चुनौती दिएका छन् । आर्थिक अभियान
प्रतिक्रिया