युक्रेन र रसियाबाट माघसम्म १८ अर्ब ७३ करोड बढीको सामान आयात, कुन कति कति ?

३ बर्ष अगाडि

काठमाडौं- युक्रेन र रसियाबाट माघसम्म १८ अर्ब ७३ करोड भन्दा बढीको सामान आयात भएको छ । 

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार दुई देशबाट माघसम्म १८ अर्ब ७३ करोड ६२ लाख रुपैयाँको सामान आयात गरेकोमा नेपालबाट १५ करोड २६ लाख ८६ हजार रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ। दुवै देशसँगको ७ महिनाको संयुक्त व्यापार घाटा १८ अर्ब ५८ करोड ३५ लाख २७ हजार व्यापार घाटा रहेको छ। 

नेपालबाट मुख्यतया कार्पेट, चिया, पश्मिना, यार्सागुम्बालगायतका सामानहरु निर्यात भएका छन्।

युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबाट सामान आयात गरेको छ भने नेपालले युक्रेनमा १५ लाख ७८ हजार रुपैयाँको मात्रै सामान निर्यात गरेको छ । युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार लिटर कच्चा सूर्यमुखी खाने तेल आयात भएको छ। कोल्जाको बिउ ३ अर्ब ९५ करोड रुपैयाँको आयात भएको छ। भटमासको कच्चा तेल पनि ७९ करोड ४७ लाख रुपैयाँ बराबरको आयात भएको छ। युक्रेनमा २ लाख ८४ हजार रुपैयाँ बराबरको कार्पेट, १ लाख ९३ हजार रुपैयाँ बराबरको यार्सागुम्बा, १ लाख ६१ हजार रुपैयाँ बराबरको चियालगायतका सामाग्री निर्यात भएका छन्।

त्यसैगरी, रसियाबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजारको सामान आयात गरेको छ भने रसियामा १५ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेका छौं। रसियाबाट सबैभन्दा बढी आयात १ करोड ५२ लाख २८ हजार ४ सय ५७ लिटर कच्चा सुर्यमुखी खाने तेल २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ७८ लाख ४५ हजार १ सय किलो तोरीको दाना ७५ करोड ३० लाख रुपैयाँ बराबरको आयात भएको छ। रसियामा ७ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको कार्पेटका वस्तुहरु, चिया ६ करोड १३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया