काठमाडौं - चालू आवको ६ महिनामा वस्तु निर्यात वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको विवरण अनुसार चालु आवको ६ महिनामा एक खर्ब १८ अर्ब ८५ करोडको वस्तु निर्यात भएको छ ।
उक्त वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा ६.१ प्रतिशतले मात्र वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, जस्तापाता, तारलगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ९९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया