काठमाडौं-नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।
चालु आवको पुस मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु. ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधीको तुलनामा भारत लगायतका तेस्रो मुलुकमा हुने नेपाली वर्षको निर्यातमा १८५.७६ प्रतिशत वृद्धि भएको हो । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा रु १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो ।
वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सारले जनाएको छ । वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुकोे निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ४४ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रु ७३ अर्ब ५५ करोड ४४ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा ३२ अर्ब ३५ करोड ३९ लाख बढी अर्थात् रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।
प्रतिक्रिया