काठमाडौं, सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने विषयलाई लिएर पाँच वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
कार्यालयद्वारा आज जारी सूचनामा लिखित रूपमा कालोसूचीमा राख्न नपर्ने आधार प्रमाणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न ती कम्पनीलाई निर्देशन दिएको उल्लेख छ।
कार्यालयले यसअघि नै ती पाँच वटै कम्पनीमा कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गर्दासमेत स्पष्टीकरण पेस नभएको जनाएको छ।
सूचनाअनुसार संघीय आयोजना कार्यान्वयन एकाइ धनुषा जनकपुरधामले कर्णाली बिल्डर्स जनकपुरधाम तथा नौकुण्ड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रसुवाले तितुङ कन्स्ट्रक्सन प्रालि काठमाडौं र कुशलदेष निर्माण सेवा नौकुण्ड रसुवालाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
यस्तै, प्रहरी प्रधान कार्यालय नक्सालले एसियन लेदर इन्डस्ट्रिज प्रालि विराटनगर र मोर्डन सुज प्रालि टोखा काठमाडौंलाई कालोसूचीमा राख्न सिफारिस गरेको सो कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
यसअघि कार्यालयले यही माघ ६ गते समयमा सम्झौताअनुसारको निर्माण सम्पन्न नगरेको भन्दै सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो।
प्रतिक्रिया