४ महिनामा १ अर्ब १७ करोड बढीको काजु र बदाम भित्रियो, कुन देशबाट कतिको आयात ?

४ बर्ष अगाडि

काठमाडौं- नेपालमा चालू आर्थिक वर्षको चार महिनामा १ अर्ब १७ करोड बढीको काजु र बदाम आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चार महिनामा १ अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र बदाम आयात भएको हो। विभिन्न जातका काजु ६१ करोड ८४ लाख ३३ हजार र ५५ करोड ९५ लाख २१ हजारको बदाम आयात भएका हुन् ।

कात्तिक मसान्तसम्मको तथ्याङ्कमा नेपालीका महान् चाड विजया दशमी र तिहारलाई लक्षित गरी व्यापारीले काजु छ देश र बदाम तीन देशबाट आयात गर्दै आएका छन् ।

काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ । सबैभन्दा धेरै काजु आयात हुने देशमा भारत पर्छ । त्यहाँबाट चालू आर्थिक वर्षको चार महिनामा ३६ करोड ५० लाख १३ हजार खर्चेर चार लाख १७ हजार ४८४ केजी काजु आयात भएको देखिन्छ ।

दोस्रो काजु आयात हुने देशमा भियतनाम पर्छ । त्यहाँबाट सोही अवधिमा १४ करोड ५३ लाख, ६६ हजार खर्चेर एक लाख ८३ हजार ५५४ केजी काजु खरिद गरिएको छ । धेरै काजु आयात हुने तेस्रो देशमा मोजाम्बिक पर्छ । त्यस मुलुकबाट पनि सात करोड तीन लाख ९७ हजार खर्चेर ८९ हजार ९०० केजी काजु खरिद गरिएको छ । यस्तै नाइजेरीयाबाट तीन करोड ५१ लाख ८४ हजारमा ४५ हजार ४५२ केजी र सिङ्गापुरबाट नौ लाख चार हजारमा एक हजारमा १३४ केजी काजु आयात भएको छ ।

सबैभन्दा धेरै बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको चार महिनामा त्यहाँबाट ५५ करोड ७६ लाख २९ हजारमा ९ लाख ९ हजार ५६० केजी बदाम आयात भएको छ । भारतबाट १५ लाख ६८ हजारमा एक हजार ६३२ केजी र अफगानिस्तानबाट तीन लाख २४ हजारमा ५०४ केजी बदाम आयात भएको छ । सो अवधिमा काजुको आयातबाट १८ करोड १५ लाख चालिस हजार र बदामबाट १७ करोड १६ लाख ५४ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया