सन् २०२१ मा यस्तो रह्यो नेपाली र अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य, अन्तिम दिन कतिमा कारोबार ?नेपाली बजारमा सुनको मूल्य गत पुस यता जेठ २० गते सुन सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । सो दिन सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै कात्तिक ३० गते पनि सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएर दोश्रो उच्च कारोबार मूल्य बनेको थियो ।
सो वर्षको फागुन र चैत्र महिनामा भने सुन न्यूनतम विन्दुमा झरेर प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
सन् २०२१ को पहिलो कारोबार दिन सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने यो वर्षको अन्तिम दिनसम्म आइपुग्दा सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा झरेको छ ।
यसैगरी, नेपाली बजारमा पुस महिना लागेदेखि चाँदीको सबैभन्दा उच्च मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको थियो जुन माघ महिनासम्म कायम रह्यो । यस्तै चाँदीको मूल्यले जेठमा प्रतितोला एक हजार ३९० रुपैयाँ तोकिएर अर्को उच्च विन्दु छोएको थियो ।
यसैगरी यस वर्षको असोजमा चाँदी सबैभन्दा कम प्रतितोला एक हजार १२० रुपैयाँ कारोबार भएको थियो ।
सन् २०२१ मा चाँदी तोलामा ४० रुपैयाँले गिरावट भएको छ । यो वर्षको पहिलो कारोबार दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने वर्षको अन्तिम कारोबार दिन चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा खरिद बिक्री भयो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि २०२१ मा सुनचाँदीको मूल्य गिरावट भएको छ । अन्तरराष्ट्रिय बजारमा यस वर्ष सुनको मूल्य ७७.८९ डलरले घटेको छ ।
यो वर्षको सबैभन्दा उच्च कारोबार मूल्य प्रतिअउन्स एक हजार ९५१.३४ डलर रहेको थियो भने सबैभन्दा न्यूनतम मूल्य प्रतिअउन्स एक हजार ६८४.२१ डलर तोकिएको थियो ।
यसैगरी चाँदीको मूल्य ३.२३ डलरले ओरालो लागेको तथ्यांकमा देखिन्छ ।
यस वर्ष सबैभन्दा धेरै प्रति अउन्स २८.६८ डलरमा खरिद बिक्री भएको थियो । यसैगरी २०२१मा सबैभन्दा कम विन्दुमा प्रतिअउन्स २१.५७ डलरमा कारोबार भएको थियो ।
प्रतिक्रिया