२२ महिनामा रसुवागढी र तातोपानीबाट ४१ अर्ब ४९ करोड वस्तु नेपाल भित्रियो, निर्यात व्यापार शून्य

४ बर्ष अगाडि

काठमाडौं, चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानीबाट पछिल्लो करिब दुई वर्षको अवधिमा नेपालबाट एक रुपैयाँको वस्तु पनि चीन बाहिरिएको छ । २२ महिनाको अवधिमा रसुवागढी र तातोपानीबाट हुने निर्यात व्यापार शून्य रहेको छ । 

तर यी दुई नाकाबाट पछिल्लो करिब दुई वर्षको अवधिमा चीनबाट नेपालमा ४१ अर्ब ४९ करोड ५० लाख ६६ हजार रुपैयाँको विभिन्न वस्तु आयात भएको छ । 

भन्सार विभागका अनुसार २०७६ माघ महिनापछि २०७८ मंसिर मसान्तसम्म २२ महिनाको अवधिमा नेपालबाट यी दुई नाका हुँदै कुनै वस्तु चीन गएको छैन ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा मात्र चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै नेपालमा १८ अर्ब ६३ करोड १० लाख ३१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । सो अवधिमा तातोपानी नाकाबाट ५ अर्ब १९ करोड ८१ लाख ८० हजार रुपैयाँ र रसुवागढी नाकाबाट १३ अर्ब ४३ करोड २८ लाख ५१ हजार रुपैयाँको वस्तु नेपाल आएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/८८ मा चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार अघिल्लो वर्ष तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ र रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा तातोपानी र रसुवागढी नाकाहुँदै चीनबाट नेपालमा ३१ अर्ब ११ करोड ५९ लाख १ हजार रुपैयाँको वस्तु आएको थियो । सोही समयमा नेपालबाट ती दुई नाका हुँदै चीनमा ७२ करोड ३३ हजार रुपैयाँको वस्तु गएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा चीनबाट तातोपानी नाका हुँदै ४ अर्ब ८८ करोड २२ लाख १४ हजार रुपैयाँको वस्तु नेपालमा आएको थियो भने नेपालबाट १३ करोड ७६ लाख ७९ हजार रुपैयाँको वस्तु गएको थियो । यस्तै, सोही वर्ष चीनबाट रसुवागढी नाका हुँदै नेपालमा २६ अर्ब २३ करोड ३६ लाख ८७ हजार रुपैयाँको वस्तु आएको थियो । 

उक्त नाका हुँदै सो अवधिमा नेपालबाट चीनका ५८ करोड २३ लाख ५४ हजार रुपैयाँको वस्तु गएको विभागको तथ्याङ्कले देखाउँछ । 

आर्थिक वर्ष २०७५/७६ मा रसुवागढी र तातोपानी नाका हुँदै चीनबाट नेपालमा ४० अर्ब ८९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आएको थियो । उक्त वर्ष ती नाका हुँदै नेपालबाट चीनमा १ अर्ब २० करोड ९६ लाख १६ हजार रुपैयाँको वस्तु गएको थियो । 

नेपालले अन्तिम पटक तातोपानी र रसुवागढी नाका हुँदै २०७६ माघमा वस्तुहरु चीन पठाएको थियो । त्यसपछि ती नाकाबाट नेपाली वस्तुले चीनमा प्रवेश पाएको छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया