देशकै मुख्य व्यापारी नाकामा बढ्यो आयात तथा निर्यात, ५ महिनामा ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन

४ बर्ष अगाडि

काठमाडौं - देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आव २०७८/७९ को पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजश्व सङ्कलन भएको छ । यो गत आवको तुलनामा ५२.५० प्रतिशत बढी हो ।

विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थ लगायत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताए ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख बढी राजस्व सङ्कलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया