किबीको बिरुवा भूटान निर्यात

४ बर्ष अगाडि

काठमाडौं - पूर्वी नाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो । 

भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए । रु एक लाख १५ हजार बराबरको एक हजार २०० वटा किबीको बिरुवा भूटान निकासी भएको छ । 

 किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद कुरा भएको साहुले बताए । यसअघि आव २०७४/७५ मा १०० र आव २०७५/७६ मा किबीका २०० वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ । 

विगत लामो समयदेखि किबीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किबी प्रालिले बङ्गालादेश र भारतका विभिन्न ठाउँमा किबीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताइन् । पाँच वर्ष अघिदेखि किबीको बिरुवा भूटान निर्यात गर्दै आएको उनको दाबी छ । समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबीखेती हुने गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया