निर्देशन अटेरी गर्ने व्यवसाय शिलबन्दी गर्ने विभागको तयारी

४ बर्ष अगाडि

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफूले दिएको निर्देशन अटेरी गर्ने व्यवसायीको व्यवसाय शिलबन्दी गर्ने तयारी गरेको छ । अनुगमनको क्रममा मापदण्ड मिचेको पाइएका व्यवसायीलाई दिएको निर्देशन अटेरी भएपछि विभागले उनीहरुको व्यवसाय नै शिलबन्दी गर्ने तयारी गरेको हो । 

विभागले गरेको अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिएको, बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको लगायत कैफियत गर्ने व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन र बक्यौता तिर्न निर्देशन दिएकोमा २० प्रतिशत व्यवसायी प्रतिशतले अटेरी गर्ने गरेका थिए । 

उनीहरुको व्यवसायमा अब पुनः अनुगमन गरी शिलबन्दी गर्ने तयारी भएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताए । 

‘करिब ३ वर्षदेखिको विवरण हेर्दा अनुगमनको क्रममा कागजात देखाउन नसकेका र एक साताभित्र बक्यौता बुझाउन निर्देशन दिएका झण्डै २० प्रतिशत व्यवसायीहरुले अटेरी गरिररहेका छन्’, उनले भने, ‘अहिले फलोअप अनुगमन गरेर उनीहरुलाई कारबाहीको दायरामा ल्याउन लागेका छौँ ।’ 

त्यसका लागि विभागले चार दिनयता फलोअप अनुगमन गरिरहेको छ । अटेरी गर्नेहरुलाई कारण हेरिकन कम्तीमा २ दिनको म्याद दिइने र  व्यवसाय सुधार नगरी सरकारी निर्देशन अटेरी नै गरेको पुष्टि भए व्यवसायिक फर्मलाई शिलबन्दी समेत गरिने उनले बताए ।

बजार अनुगमन, मुल्यवृद्धि, कृत्रिम अभाव नियन्त्रण गर्ने मुख्य दायित्व विभागकै हो । पौडेलका अनुसार अनुगमनको क्रममा अधिकांश फर्मले सरसफाइमा ध्यान नदिएको, बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको लगायत कैफियत भेटिने गरेको छ । 

ती व्यवसायीहरुलाई कसुर अनुसार १० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना तोकिएको थियो । कतिपयलाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको थियो । तर, विभागमा उपस्थित हुन अटेरी गरेका हुन ।

‘जरिवानामा परेका करिब ३ सय फर्मले अटेरी गरिरहेका छन, ४ दिनयता फेरि फलोअप अनुगमन गरिरहेका छौं’ उनले भने, ‘अबको फलोअपमा तत्काल आर्थिक जरिवाना वा २ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन वा व्यवसाय शिलबन्दीसम्म हुनसक्छ ।’
 

४ बर्ष अगाडि

प्रतिक्रिया