एमसीसी तत्काल पास गर्न र कर नतिरेको सम्पत्ति अभिलेखिकरण गर्नअध्यक्ष गोल्छाको माग

४ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल पास गर्न अर्थमन्त्री जनार्दन शर्मा समक्ष अनुरोध गरेका छन् ।

पछिल्लो समय सरकारमा सम्मिलित राजनीतिक दलहरुनै एमसीसी पास गर्ने र नगर्ने पक्षमा रहेको अवस्थामा गोल्छाले भने पटक पटक एमसीसी नेपालको हितमा रहेको भन्दै तत्काल पास गर्नुपर्ने माग राखेका हुन्।

‘अहिले नेपाली अर्थतन्त्र पेचिलो बन्दै गएको छ भने बाहिरी सहयोग पनि आउन बन्द भएको छ,’ महासंघद्वारा आयोजित कार्यक्रममा गोल्छाले भने, ‘यस्तो अवस्थामा हामीले एमसीसी सहज रुपमा स्वीकार गर्नुपर्छ ।’ 

उनले कर नतिरेको सम्पत्ति अभिलेखिकरण गर्न पनि माग गरेका छन् । महासंघद्वारा आयोजित कार्यक्रममा गोल्छाले उद्योगी व्यवसायीले सम्पत्ति अभिलेखिकरण गर्न पाउनुपर्ने माग अर्थमन्त्री जनार्दन शर्मासँग राखेका हुन् । ‘हामीले कालोधनलाई शुद्धिकरण गर्न चाहेको हैन,’ उनले भने, ‘तर हामीसँग पहिलेदेखि भएको धनसम्पत्तिलाई अभिलेखिकरण गर्न पाउनुपर्छ ।’

पछिल्लो समय उद्योगी व्यवसायीसँग पहिलै देखिको ठूलो मात्रामा धन सम्पत्ति रहेको र उक्त सम्पत्ति भित्री रुपमा रहेको भन्दै त्यसलाई अभिलेखिकरण गर्न अध्यक्ष गोल्छाले पटक पटक माग गर्दै आएका छन् । ‘व्यवसायीको लुकेर बसेको सम्पत्ति बाहिर ल्याउन पनि सम्पत्ति अभिलेखिकरण आवश्यक छ,’ उनले भने । तर सरकारले भने पछिल्लो समय सिमित व्यवसायीसँग कर छली गरेको ठूलो रकम रहेको भन्दै त्यसलाई स्वतः सम्पत्ति अभिलेखीकरण गर्न नदिने अडान राख्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया