काठमाडौं - सरकारले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी ६ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।
कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा परेको कम्पनीमा काठमाडौँका निलगिरि निर्माण सेवा, एलिट कन्स्ट्रक्सन कम्पनी, च्याङ्ग्रासी निर्माण सेवा, एसएसएम कन्स्ट्रक्सन प्रालि र बाँकेका त्रिदेव निर्माण सेवा तथा एसएनसी निर्माण सेवा प्रालि रहेको जानकारी दिएको छ ।
सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती कम्पनीलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडक डिभिजन कार्यालय लहानको सिफारिसमा निलगिरि निर्माण सेवालाई तीन वर्षका लागि कालो सूचीमा राखिएको छ ।
त्यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाको सिफारिसमा एलिट कन्स्ट्रक्सन कम्पनी तथा तारकेश्वर नगरपालिका काठमाडौँको सिफारिसमा च्याङ्ग्रासी निर्माण सेवालाई दुई/दुई वर्षका लागि कालो सूचीमा राखिएकोे छ । यसैगरी एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई एक÷एक वर्षका लागि कालो सूचीमा राखिएको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया