अन्तर्राष्ट्रिय विमानस्थलबाट चार दिनमा ५६ केजी ९३ ग्राम सुन बरामद

४ बर्ष अगाडि

काठमाडौं - विदेशबाट फर्किएका नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनदिनै सुन बरामद हुन थालेको छ । 

गत चार दिनमा कुल ५६ केजी ९३ ग्राम सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालले जनाएको छ । सुनका गहना भन्दै काँचो सुनलाई सामान्य तोडमोड गरेर ल्याइने गरेको भन्दै भन्सारले पछिल्ला दिनमा विमानस्थलमा कडा जाँच गर्न थालेको छ । 

सबैभन्दा बढी सोमबार एकैदिन ४ सय १५ जना यात्रुबाट २१ केजी काँचो सुन बरामद भएको थियो । मंगलबार भने २ सय २१ जना यात्रुबाट ११ केजी सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

बुधबार ३ सय २६ जना यात्रुबाट १५ केजी १६ ग्राम र बिहीबार २ सय ११ जना यात्रुबाट ९ केजी ७७ ग्राम सुन बरामद गरिएको हो । 

विदेशबाट फर्कंदा ५० ग्रामसम्म सुनका गहना ल्याउन पाइन्छ भने काँचो सुनका हकमा भन्सार शुल्क तिर्नुपर्छ । भन्सारले सुन बरामद गरिसकेपछि ६० दिनभित्र भन्सार महशुल बुझाई लैजान सकिने बताइएको छ ।

चार दिनमा ९ सय ९३ जना यात्रुले करिब ३ करोड ९८ लाख ११ हजार ३ सय २८ रुपैयाँ भन्सार महशुल तिरेर ४१ केजी ५०२ ग्राम सुन फिर्ता लगेको विमानस्थल भन्सारले जनाएको छ । बरामद सुन फिर्ता नलैजाँदासम्म भन्सारकै लकरमा राखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया