चार महिनामा ७ खर्ब ३२ अर्ब बढीको बैदेशिक व्यापार, बस्तु आयात ६१.५७ प्रतिशतले धेरै

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको चार महिनामा नेपालले ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको बैदेशिक व्यापार गरेको छ।

भन्सार विभागको अनुसार गत वर्षको यसै अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड २ लाख रुपैयाँ बराबरको बैदेशिक व्यापार गरेकोमा यस वर्ष यस्तो व्यापार ६५.४५ प्रतिशतले बढेको हो।

गत वर्ष ४ अर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको बस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ। यो गत वर्षको तुलनामा ६१.५७ प्रतिशतले धेरै हो।

कार्तिक महिनासम्ममा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको बस्तु निर्यात भएको छ। गत वर्षको यसै अवधिमा ४० अर्ब २० करोड रुपैयाँको बस्तु निर्यात भएकोमा यस वर्ष निर्यात १०४.२९ प्रतिशतले बढेको हो।

आयात उच्च रुपले बढ्दा नेपालको बैदेशिक व्यापार घाटा पनि निकै बढेको छ। गत वर्ष कार्तिकसम्ममा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा यस्तो घाटा बढेर ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको तथ्याँकले देखाउछ। यो गत वर्षको तुलनामा ५६.८३ प्रतिशतले धेरै हो।

४ बर्ष अगाडि

प्रतिक्रिया