काठमाडौं, मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महीनामा कुल ३९ अर्ब ५६ करोड रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।
यस नाकाबाट ७८ ओटा देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ । वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८र ७९ को साउनदेखि कात्तिक मसान्तसम्म कुल ३९ अर्ब ५६ करोड ३९ लाख ५० हजार मूल्य बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएको हो ।
आव २०७७/७८ को सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको पछिल्लो चार महीनामा कुल २१८ प्रतिशतले बढी मूल्य बराबरको नेपाली उत्पादन यो नाका हुँदै मुलुकबाहिर निर्यात भएको देखिएको हो ।
गत आव २०७७र ७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा यस नाकाबाट कुल १२ अर्ब ४४ करोड २ लाख ८५ हजार रुपैयाँ बराबरका मालसमान निर्यात भएको थियो । उक्त अवधिमा कोभिड–१९ को असहज परिस्थितिका कारण नेपाली सामान निकै कम निर्यात भएको देखिएको छ ।
चालू आव २०७८/७९ को साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा वीरगञ्ज भन्सार नाका हुँदै मुलुक बाहिर निर्यात भएको सामाग्रीमा विविध प्रकारका तेलदेखि विभिन्न कपडाजन्य सामग्रीसम्म पर्दछन् । सो अवधिमा निर्यात भएको सामग्रीमध्ये वीरगञ्ज नाकाबाट १७ अर्ब २० करोड ९० लाख ९ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको देखिन्छ ।
त्यसैगरी प्रशोधित पाम तेल १३ अर्ब ४० करोड ७८ लाख २२ हजार मूल्य बराबरको निर्यात भएको छ, भने डाबरको उत्पादन तथा अन्य फलफूलको जुस १ अर्ब ८४ करोड ४७ लाख ५७ हजार मूल्य बराबरको निकासी भएको देखिन्छ ।
त्यसैगरी सो अवधिमा सूर्यमुखी प्रशोधित तेल १ अर्ब ५८ करोड २ लाख ६१ हजार मूल्य बराबरको भारततर्फ निकासी भएको छ भने भटमासको पिना मात्रै ६१ करोड ६८ लाख ९४ हजार रुपैयाँको भारततर्फ निकासी भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।
यसैगरी वीरगन्ज भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ जमोठ कपडा, बत्तिसा, त्रिफला, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोर्ट सुज, सेन्थेटिक सुज, दन्तमञ्जन, ऊनी गलैँचा, होमियोपैथिक तथा आयुर्वेदिक औषधि, तयारी कपडालगायत सामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको देखिन्छ ।
प्रतिक्रिया