माछामा आत्मनिर्भर, किसानलाई  ५० प्रतिशत अनुदानमा बीउ वितरण

४ बर्ष अगाडि

काठमाडौं - नेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर  भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको छ । 

यहाँ वार्षिक तीन हजार मेट्रिक टन माछाको माग हुने गरेको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँको अनुसार यस वर्ष उत्पादन बढेर छ हजार ६५३ मेट्रिक टन माछा उत्पादन हुने लक्ष्य राखिएको छ । एक हजार ३०७ व्यावसायिक माछा खेती गर्नेहरु रहेको छन् । जहाँ दुई हजार ८३१ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।
  
जिल्लामा उत्पादित माछामध्ये दैनिक दुई टन जिल्ला बाहिरका बजारमा जाने गरेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा हाल दैनिक एक टन माछा छिमेकी राष्ट्र भारतबाट आउने गरेको भए पनि जिल्लाको बजारलाई यहीको उत्पादनले धान्ने गरेकाले यस जिल्लालाई माछामा आत्मनिर्भर भएको सङ्घले घोषणा गरेको हो । 

यहाँ उत्पादित माछाको मुख्य बजार चितवन, पोखरा र काठमाडौँ रहने गरेको छ । जिल्लाका मुख्य बजारमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै उहाँले यसलाई रोक्नका लागि स्थानीय निकायसँग सहकार्यका लागि माग गरिएको बताउनुभयो । अहिले चितवनको बजारमा एक हजार ५०० मेट्रिक टन बिक्रीका लागि तयारी भए पनि स्टकमा राखिएको छ ।

यहाँ सात सय हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । माछापालनका लागि ५१३ हेक्टर क्षेत्रफल मात्रै प्रयोग भएको छ । नेपालमा अहिले ५५ हजार मेट्रिक टन माछा खपत हुँदै आएको छ । जसमध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ । 

किसानलाई बीउ वितरण
शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलोग्राम गहुँको बीउ वितरण गरेको हो ।
     
कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील कृषि सहकारी १८, कृषि समूह २२ र कृषि फार्म ४५ वटामार्फत ३२५ जना किसानलाई उन्नत जातको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त रु २० लाख रकममध्ये रु सात लाख र किसानले बेहोरेको रु सात लाख गरी रु १४ लाखमा गहुँको बीउ खरिद गरी वितरण गरिएको उनले बताए ।
 
किसानलाई मार्का नपर्ने गरी ढुवानी र लोड अनलोडबापतको खर्च शाखबाटै बेहोरिएको छ । शाखाबाट वितरण गरिएको बीउ १८८ बिघा जग्गामा किसानले छरेका छन् । नगरपालिका क्षेत्रका गहुँ खेतीमा संलग्न किसानमध्ये ७० प्रतिशतले उन्नत जातको गहुँको बीउको प्रयोग गर्ने छन् ।
 
सिँचाइको पहुँच पुग्न थालेपछि गहुँको उत्पादन प्रतिवर्ष बढ्दोरुपमा रहेको छ । किसानलाई आवश्यकताअनुसारको रासायनिक मलको आपूर्तिमा सहज गरिए उत्पादनमा वृद्धि गर्न सकिने कृषि प्राविधिको भनाइ छ । नगरपालिका क्षेत्रमा प्रतिहेक्टर गहुँको उत्पादन दुई मेट्रिक टन छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया