भन्सार छलेर ल्याइँदै गरेको ४ लाख ५० हजार बढिको सामान बरामद, ग्यास उद्योगलाई कारबाही

४ बर्ष अगाडि

काठमाडौं - कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनीट्रकबाट प्रहरीले बिहीबार रु पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनीट्रक चालक नवीन कुँवरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको पाइएको हो ।

ट्रकमा ल्याइएको सामानमा लेडिज सुट २७० थान अन्दाजी मूल्य रु एक लाख ८९ हजार, मिस्री १४५ बोरा अन्दाजी मूल्य रु दुई लाख ६१ हजार र पेठा मिठाई ८९ डिब्बा अन्दाजी मूल्य रु ९३ हजार ४५० बराबरको रहेको छ ।  बरामद सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । 

ग्यास उद्योगलाई कारबाही
नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ ।

प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जनाएको छ । विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया