काठमाडौं - सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ रु, गरिब जनताको घरमा म कसरी बल्ने रु, मलाई बल्न देउ’, लेखिएको थियो । सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।
यस्तै अनेरास्ववियू खोटाङले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालयमार्फत आइतबार नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशका अन्य तमाम क्षेत्रको मूल्यमासमेत प्रभाव पारेको भन्दै तत्काल फिर्ता लिन माग गरेको हो ।
गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनको अन्तरालमा पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ, हवाई इन्धनमा पाँच रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ मूल्यवृद्धि जनताको ढाड सेकाउने काम भएको अनेरास्ववियुको आरोप छ । मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पटक पटक वृद्धि गर्ने तर घट्दा मूल्य नघटाउने नेपाल आयल निगमको कदमप्रति अनेरास्ववियूले खेद प्रकट गरेको छ ।
अनेरास्ववियू खोटाङका संयोजक खेमराज राईले बुझाएको ज्ञापन–पत्रमा शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जस्तोसुकै प्रतिकार गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया