काठमाडौं - फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले व्यापारीक प्रदर्शनीको उद्घाटन गरे ।
जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तोदरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ । प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भर्खरै करोनाको कहरबाट अर्थतन्त्र पूर्ववत अवस्थामा फर्कदै गर्दा बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभावले अर्थतन्त्र पुनः डामाडोल हुने हो की भन्ने आशंका रहेको बताए ।
यो समस्याको समाधानको उपाय समयमा खोज्न नसके उठ्न थालेका उद्योग कहिले पनि उठ्न नसक्ने गरि ढल्ने खतरा रहेको बताए । उनले हाल बैकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या समाधान गर्न सरकारलाई अनुरोध समेत गरे ।
अवलोकनकर्ताहरुलाई आकर्षित गर्न छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिनेछन् । प्रदर्शनीमा करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
एशोसियसनले बर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया