काठमाडौं - इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थालेका छन् । कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थालेका हुन् ।
तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उनको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उहाँले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय सुरु गरेका छन् । गौरव जिल्लाकै सफल बङ्गुरपालक व्यवसायीका रूपमा चिनिन्छन् ।
सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिए । इराकमा मासिक रु ७० हजार कमाउने उहाँले बङ्गुरपालनबाटै मासिक रु डेढ लाख बचत गर्दै आएका छन् ।
सात वर्षका अवधिमा उहाँले फार्ममा झण्डै रु एक करोड लगानी गरेका छन् । यद्यपि अझै पनि उहाँलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ । व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उहाँको यो पेशाबाट सन्तुष्ट छैनन् ।
उनको आँट र व्यावसायिकतालाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७७/७८ मा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट बङ्गुरको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रमबाट रु तीन लाख ५० हजार अनुदानसमेत आएको थियो ।
उनले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बङ्गुरलाई रु ८५ हजारमा बिक्री गरेका छन् । बजारमा उत्पादन हुने फोहर उठाएर बङ्गुरलाई आहार दिने गर्नुभएका उनले आजभोलि फोहरलाई कम गरेर दाना खुवाउन थालेको छन् ।
यही कारण रु चार हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य रु पाँच हजार ५०० पुगेको छ । उनले बजारको मागअनुसार धेरै उत्पादन गर्न नसकेको बताए । एउटा माउ चार÷पाँच बेत ब्याएपछि मात्र मासुका लागि बेच्ने गरेको बताए ।
उनको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बङ्गुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाइ छ ।
प्रतिक्रिया