काठमाडौ - तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेका थिए । मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष रु ६० हजारको फूल फूलेपछि उनी उत्साहित भएका थिए । यो वर्ष उहाँले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगााएको छ ।
चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो बारीमा सयपत्री रोप्नुभएको छ । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ । कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ ।
एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उनले बताए । माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर विक्री गर्ने गरेको उनले बताए । गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै विक्री भएको उनले बताए ।
झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी
हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइ राखेका छन् ।
तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ तर, बागलुङ बजारमा सर्वाधिक झिनियाँ मीराले उत्पादन गर्दै आएका छन् । उनले दसैँ अघिदेखिबाट रु चार लाखको झिनियाँ र तयारी अन्य रोटी बिक्री गरिसकेको बताए । तीन घण्टामा १०० दर्जन झिनियाँ उत्पादन गर्दै आएको मीराको भनाइ छ ।
“पहिलेजस्तो नाफा त छैन तर सात÷आठ वर्षदेखि झिनियाँ बनाउँदै आएकी छु एकै सिजनमा रु आठ लाखसम्म कारोबार गरेको थिएँ, पछिल्ला वर्षमा झिनियाँको व्यापार केही घटेको छ, अहिले एकै सिजनमा रु छ लाखको कारोबार हुने अपेक्षा छ”, मीराले भने, “रु चार लाखको बिक्री भइसक्यो, दुई लाखका झिनियाँ र तयारी रोटी बिक्रीका लागि तयारी भइरहेको छ ।”
नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ । बागलुङका उद्यमीले दसैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् ।
उनका अनुसार थोकमा मूल्यमा सोना चामललाई रु एक हजार ३७० खरिद गर्ने गरिएको छ । एक बोरा चामलबाट करिब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । थोक मूल्यमा झिनियाँको एक दर्जनको रु १०० र फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका उद्यमी यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त देखिन्छन् । दसैँपछि मौसम राम्रो भएका कारण झिनियाँको उत्पादन राम्रो भएको मीराको भनाइ छ ।
दसैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी रु ६०, फिनी रोटी ६०, भेली रोटीलाई ५० र नमकिन रोटीलाई ५० मा बिक्री गर्दै आएका छन् ।
प्रतिक्रिया