काठमाडौं - कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कात्तिक १ र २ गते परेको अविरल वर्षाबाट नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।
उनले सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ रहेको चतरामूल नहरको २० शाखामा १४ वटा स्थानमा फुटेको छ । अब आउने गहुँको मौसम र तत्कालै सुरु हुने छठ पर्वका निम्ति पनि नहर सञ्चालन गर्न सकिने अवस्था नरहेको र नहरलाई तत्काल सञ्चालन गर्न रु पाँच करोड भन्दा बढी रकम आवश्यक पर्ने प्रमुख यादवले बताए ।
अविरल वर्षाले मूल नहरकै चार ठाउँ सुनसरीको झुम्कादेखि पश्चिम ६५, ६३, सुनसरीको खनारस्थित ११४ र बडहरास्थित १२८ आरडी नराम्रो गरी भत्किएको छ । यो पूर्णरुपमा निर्माण गर्न रु १० करोड भन्दा बढी लाग्ने छ । त्यस्तै तत्काल पानी सञ्चालन गर्ने अवस्थाको बनाउन रु पाँच करोडको लागत लाग्ने प्रारम्भिक अनुमान रहेको इञ्जिनियर रामकुमार चौधरीले जानकारी दिए ।
वर्षाले बागमती प्रदेशको धानबालीमा क्षति
असोजको अन्तिम सातामा परेको अविरल वर्षाका कारणले बागमती प्रदेशको सात जिल्लाका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले लगाएको धानबालीमा क्षति पुगेको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रारम्भिक एक अध्ययनले जनाएको छ ।
साथै दसैँलगत्तै सरकारी कार्यालय खुलेकाले कृषि प्राविधिक कर्मचारी परिचालन गरिएको र थप धानबाली क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार बागमती प्रदेशको मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ जिल्लामा अविरल वर्षाका कारणले धानबालीमा भएको क्षतिको विवरण आएको जनाइएको छ । थप विवरण आउँन बाँकी रहेको छ ।
उक्त मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार मकवानपुरमा १००, चितवनमा एक हजार ६३५, सिन्धुलीमा ९०, रामेछापमा ३०, नुवाकोटमा ३६, काभ्रेमा १५ र धादिङमा ९८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
बागमती प्रदेशको सात जिल्लामा रु तीन करोड ८२ लाख २० हजार मूल्य बराबरको धानबालीमा प्रारम्भिक क्षति भएको अनुमान छ ।
प्रतिक्रिया