काठमाडौं - रावाबेँसी गाउँपालिकाले फलफूल उत्पादन गर्ने किसानलाई पेन्सन कार्यक्रम सुरु गरेको छ ।
फलफूल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानी लिनसक्ने अवस्थामा पुर्याउने गरी गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ बाट फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष ८५ प्रतिशत अनुदानमा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको छ । नगदे बाली मानिने फलफूल खेतीतर्फ आकर्षित गर्न फलफूल खेतीलाई भविष्यको पेन्सनको नारा दिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए ।
एभोकार्डो र कागतीको बिरुवा वितरणका लागि माग आह्वान गरिएको र सोही मागका आधारमा किसानलाई बिरुवा बाँडिने गाउँपालिकाले जनाएको छ । ६ वडा रहेको गाउँपालिकामा फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तगएत किसान पेन्सन कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ ।
विगतका वर्ष लिची, आँप र सुन्तला खेती प्रवद्र्धनका लागि बजेट खर्च गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा भने किसान पेन्सनको नाममा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको हो ।
एभोकार्डो र कागतीको बिरुवा लिन गाउँपालिकाले पाँच सय मिटरदेखि १८ सय मिटर उचाईसम्मका भूगोलका किसानलाई आवश्यक कागजातसहित बिरुवा माग गर्न लागि सूचना जारी गरेको थियो ।
चक्लाबन्दीमा मिलेर फलफुल बगैंचा स्थापना गर्न चाहने समूह वा किसनाहरूलाई बिरुवा वितरणमा पहिलो प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
कृषि प्राविधिकको सल्लाहअनुसार दुरी कायम गरी खाल्डो तयार भएपछि मात्र किसानलाई बिरुवा उपलब्ध गराइने गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
प्रतिक्रिया