काठमाडौं - दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए ।
निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए ।
पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै सङ्ख्या टिपाउने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बङ्गुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।
कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएका छन् । यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएका र मुस्ताङका घुम्ती गोठ तथा खोरपालेले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका छन् ।
गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा रु पाँचदेखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २०० च्याङ्ग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु पाँचदेखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताउनुभयो ।
यता नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो ।
दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।
चीनबाट आयात भएका सामग्री कन्टेनरबाट पूरै बाहिर निकाली परीक्षण गर्ने गरेको र नीति, नियमले परिभाषित गरेबमोजिम नियमानुसार शुल्कवापतको राजस्व असुली हुँदै आएको छ । व्यापारीले बडादसैँलाई केन्द्रित गरी स्याउका साथै तयारी पोशाक, जुत्ता चप्पलजस्ता सामग्री आयात गराइरहेका छन् ।
व्यवसायीले आयात गराएका सामग्री छिटोछरितो बजारमा पुगोस् र आम उपभोक्तालाई दसैँका अवसरमा खरिद गर्न सहज होस् भन्ने अभिप्रायले कार्यालयका तर्फबाट गर्नुपर्ने भन्सार प्रक्रिया छिटोछरितो भइरहेको कर्मचारीले बताएका छन् ।
चीनबाट आयात भएका सामग्रीबाट भन्सार शुल्कवापत गत साउनदेखि हालसम्म रु एक अर्ब ७८ करोडभन्दा बढी राजस्व असुली भइसकेको र दैनिकरूपमा राजस्व असुली बढ्ने क्रम जारी रहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।
रसुवागढीको मितेरी पुलबाट दैनिकरूपमा नौवटा कन्टेनर व्यावसायिक सामग्री नेपाल भित्रने गरेका छन् ।
प्रतिक्रिया