नेपाल आयल निगमले चाडपर्वको बेला बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । इन्धनको आपूर्ति नियमित रूपमा भइरहेको र पर्याप्त मात्रामा मौज्दात भएकाले अभाव नहुने दाबी निगमले गरेको हो ।
चाडपर्वको बेला मानिसको आवतजावत धेरै हुने भएकाले पनि इन्धनको खपत धेरै हुने गरेको छ । निगमले इन्धनको मौज्दात पर्याप्त रहेकाले चाडपर्वको बेला अभाव नहुने जनाएको छ ।
कुल भण्डारण क्षमताको ९० प्रतिशत मौज्दात रहेको र आपूर्तिमा कुनै अवरोध नभएकाले पनि दशैँमा इन्धन अभाव नहुने निगमले जनाएको छ । धेरै मानिस दशैं मान्नका लागि उपत्यकाबाट गाउँ जाने हुँदा आवतजावत बढी भई इन्धन खपत पनि धेरै हुने गरेको छ ।
देशैभर दशैँको चहलपहल बढेसँगै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको निगमले जानकारी दिएको छ । उपत्यकाबाट ठूला गाडी बाहिर जाने भएकाले दशैँमा डिजेलको खपत पनि बढ्छ ।
पेट्रोलको खपत पनि सामान्य अवस्थामा भन्दा दैनिक ६ लाख लिटरले वृद्धि भएको निगमको भनाइ छ । सामान्य अवस्थामा दैनिक देशभर ४० लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले यसको खपत ५२ लाख पुगेको छ ।
यस्तै दैनिक १९ लाख लिटर खपत रहेको पेट्रोलको खपत बढेर २५ लाख लिटर पुगेको निगमको भनाइ छ । नौरथा लागेदेखि नै बढ्दो क्रममा रहेको पेट्रोलियमको माग दैनिक जसो बढ्दै गएको निगमले बताएको छ।
प्रतिक्रिया