दसैँ तिहारमा ३० हजार खसीबोका माग, च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

४ बर्ष अगाडि

काठमाडौं - जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ ।
 
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान छ ।
 
जिल्लामा ४०२ व्यावसायिक बाख्रा फर्म छन् । ती फर्ममा तीन लाख १० हजार ५१७ बाख्रा रहेको आचार्य बताउछन् । तीमध्ये दुई लाख १७ हजार ३६१ खसीबोका रहेका छन् । ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उहाँको भनाइ छ । 

जिल्लामा वार्षिक दुई हजार ६८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्याङ्क छ । अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो । विगतका वर्षमा दसैँ तिहारको समयमा ३१ हजार ८०० खसीबोका काटिएको तथ्याङ्क छ । आचार्यका अनुसार यस वर्ष त्योभन्दा बढी खसीबोका खपत हुने अनुमान छ ।

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ
दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक÷दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।

दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुग्नुभएको छ । कोही बाटोमा जाँदैछन् । 

भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् । मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजारसम्म पुगेकाले यहाँ ल्याएर बेच्दा त्यसको भाउ रु ४५ हजारमाथि पुग्छ । मूल्यमा कुरा मिले बढी किन्ने नत्र पसलबाट बेच्नका लागि थोरै मात्र च्याङ्ग्रा ल्याएर फर्कने केसीले बताउनुभयो । दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ । 

केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा यहाँ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् ।

स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् । गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङ्ग्रालाई रु २७ हजार ५०० तिरेर ल्याएका थिए । 

अहिले त्यो बढेर रु ४० हजारसम्म पुगेको छ । मूल्य चर्को परेपछि कतिपय व्यापारी यसपालि च्याङ्ग्रा किन्नै गएनन् । यहाँका २० भन्दा बढी व्यापारीले दशैँमा च्याङ्ग्राको कारोबार गर्छन् । लामो बाटामा कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा भित्राउँछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया