रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात हुँदा १० करोड ९८ लाख बढी राजस्व असुली, व्यापारी खुसी

४ बर्ष अगाडि

काठमाडौं - यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।

आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत रु १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ ।

रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ ।

गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताए । ठूलो सङ्ख्यामा लामबद्ध रूपले सेतो रङका चिनियाँ कार गुड्दा शुक्रबार राजमार्गमा निकै आर्कषण बढेको थियो ।

सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी
मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण  अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । 

यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो । भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत  दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष गोपाल केडियाले जानकारी दिए । 

कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेका थिए । रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताए । 

सवारी साधन आवतजावतले दुई देशबीचको सम्बन्ध थप बलियो बन्दै जाने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया