सरकारी चिनी काठमाडौंमा मात्रै, अभाव भएपछि बाहिर नबेच्ने निर्णय

४ बर्ष अगाडि

साल्ट ट्रेडिङ कर्पोरेशनले बिक्री गर्दै आएको चिनी यसपटक काठमाडौं उपत्यका भित्र मात्रै बेच्ने भएको छ । 

अहिले चिनी अभाव भएको कारण काठमाडौं उपत्यकामा मात्रै बिक्री गर्ने निर्णय गरेको हो। 

चाडबाडको समयमा उपत्यका बाहिर चिनी बेच्न नसकिने साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभन्डारीले बताए । 

साल्टसँग अहलिे ३ सय टन मात्रै चिनी स्टक बाँकी छ । पहिला पहिला देशभरका  २४ वटा बिक्री केन्द्रबाट चिनी बिक्री गर्ने गरेपनि अहिले अभाव भएको कारण नसक्ने जनाएको हो । 

चिनीको मौज्दात सकिन लागेपछि साल्ट ट्रेडिङले एक महिना अगाडि नै सरकारलाई खरिदको प्रक्रिया अगाडि बढाउन फाइल पेश गरेको थियो । तर सरकारले निजी क्षेत्रसँग प्रसस्तै चिनी भएको भन्दै खरिद प्रकृया अगाडि बढाएन । 

जसको मार अब उपभोक्ताले भोग्नु पर्ने छ । साल्ट ट्रेडिङ्गसँग प्रसस्तै चिनी मौज्दात भएको अबस्थामा मूल्य नियन्त्रण हुने भएपनि सकिएपछि निजी क्षेत्रले मनपरी रुपमा मूल्य बढाउने गरेका छन् । 
हाल बजारमा चिनी प्रतिकिलो ८५ देखि ९० रूपैयाँमा बिक्री भइरहेको छ भने साल्ट ट्रेडिङले सहुलियत पसलमा प्रतिकिलो ७९ रूपैयाँले बिक्री गरिरहेको छ।  खुद्रा बजारमा चिनीको मूल्य ९० रुपैयाँभन्दा माथि नजाने व्यवसायीले बताएका छन्।

नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएकोमा १ लाख ३० हजार मेट्रिक टन चिनी स्वदेशी उद्योगले उत्पादन गर्छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया