चौधरी ग्रुपले केपी ओलीलाई दियो ‘४५ अर्बको जवाफ’

४ बर्ष अगाडि

चौधरी ग्रुपले पछिल्ला ४ वर्षमा आफूले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड रूपैयाँ योगदान गरेको तथ्यांक सार्वजनिक गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ स्वरुप राजस्व तिरेको विवरण सार्वजनिक गरेको हो । 

आईतबार एमाले केन्द्रिय कमिटी बैठकमा विश्वका अर्बपतिको सूचिमा रहेका तर नेपाल सरकारलाई कर बुझाउनेमा भने नाम नआउने भनि विनोद चौधरीलाई लक्षित गर्दै आलोचना गरेको समाचार सार्वजनिक भएको थियो । 

त्यसको भोलिपल्ट सोमबार चौधरी ग्रुपले आफूले बुझाएको राजस्वको विवरण सार्वजनिक गरेपछि ओलीलाई जवाफ दिएको चर्चा भएको छ । 
चौधरी ग्रुपले नेपालमा खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ ।

चौधरी ग्रुपले आर्थिक वर्ष २०७७÷०७८ मा सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ बुझाएको जनाएको छ । ‘पछिल्लो वर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १।७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समूहबाट सरकारको राजश्वमा भएको सम्भवतः यो सबैभन्दा ठूलो योगदान हो,’ ग्रुपले भनेको छ ।

ग्रुपले आर्थिक वर्ष २०७४÷७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, आव २०७५÷७६ मा ११ अर्ब ६७ करोड ५९ लाख, आव २०७६÷७७ मा ९ अर्ब ८७ करोड २३ लाख र आव २०७७÷७८ मा १४ अर्ब २८ करोड रुपैयाँ कर बुझाएको जानकारी दिएको छ ।

‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ’, सांसद एवं ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावस्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भुमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’

गत बर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए । स्वास्थ्य संकटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति श्रृंखलामा नराम्रो असर परेको ग्रुपको भनाइ छ ।

ग्रुपका अधिकारीहरूले लकडाउन व्यहोर्नु नपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने विश्वास गरिएको बताए ।

‘अर्को पक्षबाट हेर्दा यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई क्राईसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ’, ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हामी नेपालका धेरै क्षेत्रहरुमा लगानी विस्तार गरिरहेका छौँ र चालु आर्थिक वर्षको राजश्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ । नेपालको आर्थिक विकासको प्रक्रियामा उल्लेख्य योगदान गर्न पाउनु हाम्रा लागि सदैव गर्वको विषय हो ।’

४ बर्ष अगाडि

प्रतिक्रिया