सहुलियत पसलमा ग्राहककाे भिड, दैनिक १७ लाख रुपैयाँभन्दा धेरैको खाद्यान्न बिक्री

४ बर्ष अगाडि

साल्ट ट्रेडिङ कर्पोरेशनको  सहुलियत पसलबाट दैनिक १७ लाख रुपैयाँभन्दा धेरैको खाद्यान्न बिक्री भएको छ । चाडपर्वलाई लक्षित गरेर असोज १ देखि शुरु भएको ६ वटा आउलेट र तीनवटा मोवाइल भ्यानबाट दैनिक १७ लाख रुपैयाँ भन्दा धेरैको खाद्यान्न विक्री भएको हो । 

सहुलियत पसलबाट साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडी, दाल, चिउरा, मरमसला, पिठो, तेल लगायत विभिन्न खाद्यान्न बिक्री गरिरहेको छ। यी खाद्यान्नमा संस्थानले प्रतिकिलो २ रुपैयाँदेखि ४० रुपैयाँसम्म छुट दिएको छ।

सरकारको अनुदानमा साल्ट ट्रेडिङले सहुलियत पसल संचालन गरेर नुनमा २ केजी छुट दिएर किलोको १८ रुपैयाँमा बिक्री गरिरहेको छ। यस्तै, चिनी किलोको ७९ रुपैयाँमा तथा दुई केजीको प्याकेट एक सय ५८ रुपैयाँमा बिक्री गरेको छ। 

एकजनाले बढीमा ६ किलो नुन र दुई केजी चिनी खरिद गर्न पाउनेछन्। चामलमा पनि प्रतिबोरा २५ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट दिएको छ। यसबाहेक अन्य खाद्य वस्तुमा किलोमा ५ रुपैयाँ छुट दिएको संस्थाले बताएको छ।  

कर्पोरेशनले उपत्यकाभित्रका विभिन्न टोल र वडामा दैनिक तीनवटा मोवाइल भ्यानमार्फत खाद्य वस्तुहरु बिक्री गरिरहेको छ। तर मोबाइल भ्यान भने मागअनुसार पठाउने गरेको बताइएको छ।

गतवर्ष सहुलितय पसलबाट दैनिक १५ लाख रुपैयाँको खाद्यान्न व्यापार भएकोमा यो वर्ष तीन देखि चार लाख रुपैयाँले बढेको साल्ट ट्रेडिङले जनाएको छ । 

सामान्य अवस्थामा दैनिक तीन लाख रुपैयाँसम्मको खाद्यान्न बिक्री हुँदै आएको र अहिले सहुलियत पसलका कारण संस्थाले अपेक्षा गरेभन्दा पनि बढी रकमको व्यापार भएको छ । बिहान ९ बजेदेखि संचालन हुने सहुलियत पसलमा बेलुकासम्मै खुला हुने गरेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया