काठमाडौँ - यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा ५० हजार हाराहारी खसीबोका खपत हुने आङ्कलन छ । पशुसेवा र व्यावसायीले उक्त सङ्ख्याका खसीबोका खपत हुने आङ्कलन गरेका हुन् । उपत्यकामा बिक्री हुने खसीबोका औसतमा २५ किलो हुने कलंकी खसी बजारका व्यवस्थापक जीवन खतिवडाले जानकारी दिए ।
यस अनुसार, ५० हजार खसीबोकाको औसत २५ किलो तौलले कुल १२ लाख ५० हजार किलो खसीबोका बेच्नका लागि उपत्यका ल्याइन्छ । हाल काठमाडौँ उपत्यकामा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ छ । जसअनुसार, १२ लाख ५० हजार किलो खसीबोकाको औसत मूल्य ८१ करोड २५ लाख हुन आउँछ ।
यसले यो वर्षको दसैँमा उपत्यकामा मात्रै ८१ करोड रुपैयाँभन्दा बढीको खसीबोकाको मासु खपत हुने देखाउँछ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा दुई हजार वटा खसीबोका बेच्ने तयारी गरेको छ ।
यस्तै, एक हजार वटा च्याङ्ग्रा पनि उपत्यकामा ल्याएर बेच्ने तयारी थालेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले बताइन् । उनले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा किन्न व्यापार कम्पनीले करिब सात करोड रुपैयाँ छुट्याएको बताइन् ।
कम्पनीले गत वर्ष १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा उपत्यका ल्याएर बिक्री गर्ने योजना बनाएको थियो । तर, अन्तिममा च्याङ्ग्रा ल्याउन सकेको थिएन भने १५ सय वटा मात्रै खसीबोका ल्याएको थियो ।
प्रतिक्रिया